काठमाडौं, पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्। सोमबार राति भएको सेमिफाइनलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा पुगेका हुन्।

स्पेनले पहिलो सेमिफाइनलमा मोरक्कोमाथि २-१ को पुनरागमन जित हात पारेको छ। खेलको ३७औं मिनेटमा साउफिएन राहिमीले पेनाल्टीमार्फत मोरक्कोलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा पर्मिन लोपेजको नेतृत्वमा स्पेनले दुई गोल गर्दै खेल पल्टायो। फर्मिनले ६६औं मिनेटमा स्पेनको पक्षमा बराबरी गोल गरे, र त्यसपछि जुवानलु सान्चेजले ८५औं मिनेटमा गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए।
अर्को सेमिफाइनलमा आयोजक फ्रान्सले इजिप्टलाई ३-१ ले हरायो। खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा खेल सुरु भएको थियो। इजिप्टले ६२औं मिनेटमा महमउद साबेरको गोलमार्फत अग्रता लिएको थियो। तर ८३औं मिनेटमा जिन फिलिप माटेटाले फ्रान्सको लागि बराबरी गोल गरे। निर्धारित ९० मिनेटपछि खेल अतिरिक्त समयको लागि लम्बाइएको थियो।

अतिरिक्त समयको दोस्रो मिनेटमा इजिप्टका ओमार फायदले रातो कार्ड पाउँदा इजिप्ट दश खेलाडीमा सिमित भयो। यसको फाइदा उठाउँदै माटेटाले ९९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए। माइकल ओलिसले १०८औं मिनेटमा तेस्रो गोल गरेर फ्रान्सलाई ३-१ को जित दिलाए। पुरुष फुटबलको स्वर्णका लागि फाइनल खेल अगष्ट ९ मा हुनेछ।