काठमाडौं, पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।

गएको राति भएको खेलमा ब्राजिलले फ्रान्सलाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। यस्तै, अमेरिकासँगको खेलमा जापान पराजित भयो भने, जर्मनीसँगको खेलमा क्यानडा पराजित भएको छ। स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सेमिफाइनलको पहिलो खेल मंगलबार अमेरिकाले जर्मनीसँग खेल्नेछ, जबकि स्पेनले ब्राजिलको सामना गर्नेछ।
पेरिस ओलम्पिकको आठौं दिन सकिँदा चीन १६ स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ। चीनले अहिलेसम्म १६ स्वर्ण, १२ रजत र ९ कांस्यसहित कुल ३७ पदक जितेको छ। शनिबार चीनले थप ३ स्वर्ण जितेपछि अमेरिका चौथो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ। अमेरिका अहिले १५ स्वर्ण, २४ रजत र २३ कांस्यसहित कुल ६१ पदक जितेर दोस्रो स्थानमा छ।
आयोजक टोली फ्रान्स तेस्रो स्थानमा झरेको छ। यसले १२ स्वर्ण, १४ रजत र १५ कांस्यसहित ४१ पदक जितेको छ। अस्ट्रेलिया समान १२ स्वर्ण, ८ रजत र ७ कांस्यसहित चौथो स्थानमा छ। ग्रेट ब्रिटेन १० स्वर्णसहित कुल ३३ पदक जितेर पाँचौं स्थानमा रहेको छ।
दक्षिण कोरिया ९ स्वर्णसहित २१ पदक जितेर छैठौं स्थानमा उक्लिएको छ। जापान र इटाली क्रमशः सातौं र आठौं स्थानमा रहेका छन्।
आज थप २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। २ सय ६ देश मध्य ४१ देशले कम्तिमा १ स्वर्णपदक जितेका छन् भने ६३ देशले पदकको खाता खोलेका छन्।