काठमाडौं, मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन्।

मिस नेपाल २०२३ सृच्छा प्रधानले उनलाई ताज लगाइदिइन्। यस वर्षको मिस नेपाल अर्थको उपाधि सुमन केसीले प्राप्त गरिन्, जबकि मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन्।
आस्मा केसी सोसल वर्कमा स्नातक अध्ययनरत छिन् र उनी २६ वर्षीया, ५ फिट ५ इन्च उचाइकी काठमाडौं निवासी हुन्।
संबन्धित विधामा अन्जना पुनले पपुलर च्वाइस, ऊर्जा नेवाले मिस फिटनेस, सिम्रिका मानन्धरले हेल्दी स्किन, साइरा खड्काले मिस भिजिनरी, प्रेरभिता स्वारले मिस कन्फिडेन्ट, सुमना केसीले मिस हाइजिन, र अम्बिका राणाले ग्रीन भिजिनरीको उपाधि जिते।
मिस फोटोजेनिकको उपाधि श्रद्धासुमन सिलवालले, फार्मेसी फेस अफ द इयरको उपाधि आस्मा केसीले, मिस इन्टलेक्चुअलको उपाधि दीक्षा अवस्थीले, र ब्युटी विथ अ पर्पस विधामा सुमना केसीले विजय प्राप्त गरे।
‘ब्युटी विथ पर्पस’ विधा यस वर्ष पहिलोपटक आयोजित गरिएको हो, र वुमन विथ द विंग्स विधामा किम्ती श्रेष्ठले जिते।
सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो।
फिनालेमा प्रियंकारानी जोशी, दिब्यदेव, शरद भेसवाकर लगायतका ११ जना जजको रूपमा उपस्थित थिए। यस वर्षको मिस नेपालको ३० औं वर्षगाँठ पनि मनाइयो।
समारोहको शुरुवात प्रथम मिस नेपाल रुवी राणाको मन्तव्यसँगै भएको थियो। उनले मिस नेपालको तीन दशक लामो यात्रामा ल्याएका सामाजिक र लैंगिक परिवर्तनहरूको चर्चा गर्दै आफ्नो अनुभव सुनाइन्।
सहान बज्राचार्यले होस्ट गरेको समारोहमा २०२३ का मिस नेपाल सृच्छा प्रधान, प्रसिद्धी शाह र रेना मजगैयाँ को-होस्ट थिए।
द हिडन ट्रेजरले आयोजना गरेको समारोहमा पूर्व मिस नेपालहरूको उपस्थिती र मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशकहरूको पनि सहभागिता थियो।