काठमाडौं, काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो। नेपालले २५-१८, १२-२५, २५-१७, १८-२५, र १५-१३ को सेटमा जित हात पारेको थियो।
घरेलु समर्थकहरूको साथ पाएको नेपालले पहिलो सेटमा १२-६ को अग्रता लिंदै शानदार सुरुवात गर्यो। तर भारतले पुनरागमन गर्दै ११-१३ को अवस्थामा अग्रता घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो।
अग्रतालाई निरन्तरता दिँदै २२-१८ को अवस्थामा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो। नेपालले पहिलो सेट २५-१८ ले सहजै जितेको थियो।
दोस्रो सेटमा नेपाल सुरुवातमा ६-६ को अवस्थामा थियो। तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै २५-१२ को जित हात पारेको थियो। खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो।
तेस्रो सेटमा नेपालले १६-९ को अग्रता लिंदै सहज जितको आधार तयार पारेको थियो। तेस्रो सेटमा २५-१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट टाढा थियो।
चौथो सेटमा भारत सुरुवातमा ८-३ ले अघि थियो। भारत निरन्तर चौथो सेटमा अघि थियो र मध्य समयमा १५-१० को अग्रता लिएको थियो। नेपालले १५-१७ बनाउँदै खेलमा फर्कने सम्भावना देखाएको थियो, तर लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५-१८ ले जितेको थियो।
निर्णायक पाँचौं सेट प्रतिस्पर्धात्मक बनेको थियो। उषा भण्डारी र सरस्वती चौधरीको स्पाईकमा अंक जोड्दै नेपालले ५-२ को अग्रता लिंदै ऐतिहासिक जितको संकेत दिएको थियो। नेपालले ८-५ को अवस्थामा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो।
नेपाल १२-१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो। टाइम आउट लगत्तै अंक जोड्दै भारतले खेललाई १२-१३ को अवस्थामा ल्याएको थियो। सरस्वतीले लेफ्ट साइडबाट अंक जोडेर नेपाल जित भन्दा एक अंक टाढा थियो। तर भारतले पुनः अंक जोड्दै खेल १३-१४ को अवस्थामा पुर्याएको थियो। नेपालले भारतको मोमेन्टम ब्रेक गर्न टाइम आउट लियो।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को सागको फाइनलमा दशरथ रंगशालामा थियो। उक्त खेलमा नेपाल ३-२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो।
प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स, र श्रीलंकाको सहभागिता छ। शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन्। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो। भारतले पहिलो खेलमा इरानलाई ३-१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो।