काठमाण्डाै । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीले जानकारी दिनुभयो ।

विश्वमा झन्डै महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको तथ्याङ्क रहेको छ ।
नेपालमा पहिलो पटक गरिएको सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये ५ प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्बलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ ।
उहाँले यौन दुर्बलता भएकामध्ये झन्डै ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताउनुभयो ।
‘यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या छ । झन्डै ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसूस गर्छन्’, अध्ययनको प्रतिवेदनमा भनिएको छ ।
अध्ययनमा यौन दुर्बलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै– तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले जानकारी दिनुभयो ।
सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेशमा ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत छ ।
प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्बलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताउनुभयो ।
यौनरोग विशेषज्ञसमेत रहनुभएका उहाँले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान्–श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताउनुभयो ।
यस्तै शारीरिक कारणहरूमा यौन अङ्गमा हुने सङ्क्रमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् ।
यसैगरी सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्बलता देखिएको छ ।
यस्तै मधुमेह, उच्च रक्तचाप भएका बिरामीमा पनि यौन दुर्बलता हुने गरेको उहाँले बताउनुभयो । अध्ययनले १८ वा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६८ प्रतिशत र २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशतभन्दा उच्च रहेको देखाएको छ ।
फलफूल र सागसब्जीसहितको स्वस्थकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्बलता रहेको छ ।
प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्बलता दर कम रहेको पाइएको बताउनुभयो ।
यस्तै अध्ययन प्रतिवेदनमा सुर्ती, जाँड–रक्सी खाने बानीले पनि यौन दुर्बलता बढाएको उल्लेख गरिएको छ । लामो समय सुर्ती खाएर छाडेकामा ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ ।
त्यसैगरी जाँड–रक्सी खानेहरूमा ६९ प्रतिशत र नखानेहरूमा ५९ प्रतिशत यौन दुर्बलता रहेको पाइएको छ । सोलिड नेपालले नेपालका ७ वटै प्रदेशका ३४ वटा जिल्लाका ३ हजार ३ सय ८२ जना विवाहित महिला र पुरुषमा गएकाे असारदेखि पुस महिनासम्म सर्वेक्षण गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले यौन दुर्बलतासम्बन्धी अध्ययन निकै जटिल रहेको भन्दै अध्ययनले नेपालको यौन दुर्बलताको अवस्थाको उजागर गरेको बताउनुभयो ।
‘अध्ययनमा यौन दुर्बलता देशकै समस्याका रूपमा देखिएको पाइयो’, उहाँले भन्नुभयो, ‘अब आयोगले पनि यौन दुर्बलता घटाउने खालका कार्यक्रमसम्बन्धी नीति बनाउनेछ ।’
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डीन डा. मोहनराज शर्माले पहिलो पटक गरिएको यौन दुर्बलतासम्बन्धी अध्ययनबाट नेपालको स्वास्थ्य सेवालाई नै चुनौती थपेको बताउनुभयो । उहाँले यौन दुर्बलता घटाउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले यौन दुर्बलताले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि असर गर्ने भएकाले यौन दुर्बलतासम्बन्धी कार्यक्रमलाई आफूहरुले समावेश गर्ने बताउनुभयो ।
प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले आमा समूह, उपभोक्ता समूह, स्वास्थ्य समूहको नियमित कार्यक्रममा यौन दुर्बलता रोकथाम र नियन्त्रणसहितको जिम्मेवार स्वस्थ यौन व्यवहारका बारेमा छलफल चलाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुनेगरी अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा यौन स्वास्थ्यसम्बन्धी बहु–विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो । रासस