maobadi kendra

डडेल्धुरा, नेपाल – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम क्षेत्र विकास र समृद्धिको दृष्टिले निकै सम्भावनायुक्त भए पनि केन्द्रीय सरकारले विभेदपूर्ण व्यवहार गर्दै आएको आरोप लगाएका छन्।

डडेल्धुरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले भने सुदूरपश्चिमलाई सधैं प्राथमिकतामा राख्दै आएको बताए। “सरकारको नेतृत्व गर्दा मैले सुदूरपश्चिमलाई सधैं प्राथमिकतामा राखेको छु,” उनले भने, “तर, केन्द्रीय सत्ताबाट सुदूरपश्चिमलाई अझै पनि विभेद भइरहेको छ।”

प्रचण्डका अनुसार बसाइँसराइ रोक्न र स्थानीय जनजीवन सुधार गर्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमा केन्द्रित नीतिहरू आवश्यक छन्। उनले भने, “डडेल्धुरा र आसपासका पहाडी जिल्लाबाट भइरहेको जनसंख्या पलायन रोक्न सरकारको ध्यान ती क्षेत्रमैत्री नीतिमा जानुपर्छ, हामी त्यसतर्फ पहल गर्नेछौं।”

उनले थपे कि हाल माओवादी केन्द्रले दुई प्रमुख भौगोलिक क्षेत्रलाई लक्षित गर्दै ‘जागरण अभियान’ सञ्चालन गरिरहेको छ। पहिलो चरणमा तराईको हुलाकी राजमार्ग क्षेत्रमा कार्यक्रम सम्पन्न भइसकेको र दोस्रो चरणअन्तर्गत पहाडी क्षेत्रका लागि मध्यपहाडी लोकमार्गमा केन्द्रित अभियान सुरु गरिएको जानकारी दिए।

“झापाको कचनकवलबाट सुरु भएको पहिलो चरणको अभियान महाकालीमा सम्पन्न भयो भने दोस्रो चरण बैतडीबाट सुरु भई सोलुखुम्बुमा टुंगिनेछ,” अध्यक्ष दाहालले जानकारी दिए।

सरकारको आलोचना गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारले राम्रो काम गर्नेलाई दण्ड दिने र गलत गर्नेहरूलाई पुरस्कृत गर्ने प्रवृत्ति अपनाएको आरोप लगाए। “सरकार सहि मार्गमा छैन,” उनले भने, “यो चिन्ताजनक छ। आफ्ना मान्छेहरू बचाउने खेल चलिरहेको छ, जुन जनताका पक्षमा होइन।”

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, महासचिव देव गुरुङ र सुदूरपश्चिम इन्चार्ज गरिराजमणि पोखरेललगायतको उपस्थिति थियो। साथै, प्रचण्डले हाल चलेको कांग्रेस–माओवादी सत्ता समीकरणको चर्चा पनि अफवाहमात्र भएको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *