चितवन, भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। चेकिङका क्रममा ‘माथिको पावर देखाएको’ भन्दै प्रहरीले युवकलाई लात्तीले हानेर लडाएपछि पुनः लात्तैले कुटपिट गरेको देखिन्छ।

प्रहरीद्वारा युवकमाथि गरिएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। उक्त भिडियोमा राति मोटरसाइकल चेकिङका क्रममा प्रहरीले युवकलाई ‘फोन गर्ने?’, ‘माथिको पावर देखाउने?’ भन्दै कुटपिट गरिरहेको दृश्य देख्न सकिन्छ।
युवकले भाग्न खोज्दा पनि प्रहरीले लात्ती प्रहार गरी बिजुलीको पोल छेउमा लडाएपछि थप गाली र कुटपिट गरेको भिडियोमा स्पष्ट देखिन्छ।
घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय चितवनले एसपी गौतम मिश्रको निर्देशनमा डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। एसपी मिश्रले लोकेसन भेरिफिकेशन भइरहेको र छानबिनपछि आवश्यक कारबाही अघि बढाइने बताए।
यसैबीच, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भिडियो पुरानो भएको दाबी गर्दै घटना छानबिन भइरहेको जानकारी दिएका छन्।