Former captain Sandeep Lamichhanes post has heated up social media

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेको एक पोस्टले हाल सामाजिक सञ्जालमा नेपाली क्रिकेटको माहोल तातिएको छ।

Former captain Sandeep Lamichhanes post has heated up social media

सन्दीपले आफ्ना समर्थकहरूप्रति कृतज्ञता व्यक्त गर्दै एक पोस्ट गरेका छन्। उनले लेखेका छन्, “सबैलाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले मेरो यात्रामा निरन्तर साथ दिएका छन्। यो माया र हौसला मेरा लागि सबैथोक हो र सधैं विशेष रहिरहनेछ।”

सन्दीपको यस पोस्टले सामान्य प्रतिक्रियासँगै केही कौतुहलता पनि जन्माएको छ। कतिपयले यसलाई उनले ठूलो निर्णयको संकेत भनेका छन्, भने कतिपयले सन्यासको अनुमान गरेका छन्।

तर, यो विषयमा सन्दीपसँग सम्पर्क गर्न खोज्दा उनी उपलब्ध भएका छैनन्। उनका फोन बन्द छन् भने क्यानका प्रवक्तासँग पनि सम्पर्क हुन सकेको छैन।

यो स्थिति र सन्दीपको स्टाटसले थप शंका उब्जाएको छ, के उनी सचमुच सन्यास लिँदैछन्, वा कुनै अन्य निर्णयको तयारीमा छन्?

२४ वर्षीय सन्दीपको लागि अहिले नै सन्यास लिने ठोस कारण देखिँदैन। व्यक्तिगत इच्छाबाहेक अन्य कुनै बाध्यता छैन। यद्यपि, युवा उमेरमै सन्यास लिने उदाहरण पनि छन्। अफगानिस्तानका नवीन उल हकले २४ वर्षमै एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए, तर उनले टी२० करियरलाई प्राथमिकता दिन यस्तो निर्णय लिएका थिए।

केहीले सन्दीपको पोस्टलाई ध्यान आकर्षण गर्न गरिएको भनेका छन् भने कतिपयले उनलाई नेपाल छाडेर अन्य देशबाट खेल्न लागेको समेत अनुमान गरेका छन्।

तर यी सबै अड्कलबाजी मात्र हुन्। वास्तविकता के हो भन्ने सन्दीप आफैंले बोलेपछि मात्र थाहा हुनेछ।

सन्दीपले नेपालका लागि ५८ एकदिवसीय र ५८ टी२०आई खेलिसकेका छन्। उनी आइपीएल र बीबीएलजस्ता प्रतिष्ठित लिगमा पनि खेलिसकेका छन्। यद्यपि, हालै उनका प्रदर्शनमा एकरूपता नभए पनि करियरका लागि अझै लामो समय बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *