araniko higway 2

काठमाडौँ, युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धन ‘नेटो’को ७५औँ वार्षिकोत्सव मङ्गलवार अमेरिकाको वाशिङ्टन डीसीमा मनाइँदै छ। यो त्यही सहर हो जहाँ नेटोको स्थापना गरिएको थियो।

araniko higway 2

नेटो अहिले इतिहासकै सबैभन्दा तनावको क्षणबाट गुज्रिरहेको छ। यसका सदस्यराष्ट्रहरू आफ्नो प्रतिरक्षा सामर्थ्य बढाउने प्रयास गर्दै रुसविरुद्ध युद्ध लडिरहेको युक्रेनलाई आवश्यक हातहतियार उपलब्ध गराउन सङ्घर्ष गरिरहेका छन्।

अमेरिका, यूके, क्यानडा र फ्रान्ससहितका १२ वटा देशले सन् १९४९ मा ‘नेटो’ अर्थात् ‘उत्तर एट्लान्टिक सन्धि सङ्गठन’को स्थापना गरेका हुन्।

नेटो स्थापना गर्ने सन्धिमा हस्ताक्षर चाहिँ वाशिङ्टन डीसीस्थित मेलेन अडिटोरिअममा भएको थियो।

यो वर्ष पनि नेटो सदस्यराष्ट्रका नेताहरू पहिलो सम्मेलनको वार्षिकोत्सव मनाउन जुलाई ९ देखि ११ सम्म वाशिङ्टनमा भेला हुँदै छन्।

नेटोको प्राथमिक उद्देश्य युरोपमा सोभियत सङ्घको विस्तार रोक्नु थियो। त्यस बेला रुससहितका कम्युनिस्ट गणतन्त्रहरूले सोभियत सङ्घको गठन गरेका थिए।

नेटोका सदस्यराष्ट्रहरूबीचको सम्झौतामा कुनै एक सदस्यमाथि आक्रमण भए अरू देशहरू पनि त्यस सदस्यराष्ट्रको प्रतिरक्षामा सहभागी हुनुपर्ने सहमति छ।

नेटोको आफ्नै सेना भने छैन। तर सदस्यराष्ट्रहरूले सङ्कटको समयमा संयुक्त सैन्य कारबाही अघि बढाउन सक्छन्।

उदाहरणका लागि, नेटोले सन् १९९२ देखि २००४ सम्म तात्कालिक युगोस्लाभियाको युद्धमा हस्तक्षेप गर्न संयुक्त राष्ट्रसङ्घलाई सहयोग गर्‍यो। सैन्य शक्ति र स्थल फौजको प्रयोग गरेर यो सङ्गठन उक्त देशमा भइरहेको जातीय सफाया रोक्दै शान्ति सम्झौता गराउन सफल भयो।

नेटोले सैन्य योजनाहरूको संयोजन र संयुक्त सैन्य अभ्यास पनि सञ्चालन गर्दै आएको छ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणलाई नेटोले आफ्ना “सहयोगीहरूको सुरक्षामा सबैभन्दा उल्लेख्य र प्रत्यक्ष चुनौती भएको” बतायो।

नेटोमा कार्यकाल सकिन लागेका महासचिव यान्स स्टोल्टेन्बर्गले वाशिङ्टन डीसीमा हुन लागेको सम्मेलनको मुख्य उद्देश्य आफ्ना सदस्यराष्ट्रहरूको रक्षा सामर्थ्य बढाउने र युक्रेनमा विशेष गरी गोलीगट्ठा र क्षेप्यास्त्रहरूको नियमित आपूर्ति कसरी गर्ने भन्नेबारे छलफल गर्नु रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *