काठमाडौँ, मधेसवादी दलहरू आज मधेसी मोर्चा गठन गर्न आवश्यक तयारीमा जुटेका छन्। मकर सङ्क्रान्तिको शुभ अवसरमा विभिन्न कार्यदलहरूको बैठक बोलाइएको छ।

बैठकमा सहभागी नेताहरूले मकर सङ्क्रान्तिको विशेष परिकार खिचडी, भुजाको लड्डु, तिलको लड्डु लगायतका परिकार खाँदै छलफलमा जुटेका छन्। बैठकको मुख्य एजेन्डा मधेसी मोर्चा गठनकै बारेमा छलफल गर्नु रहेको बताइएको छ।
सत्ता गठबन्धनका दुई प्रमुख दल, नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनमार्फत थ्रेसहोल्ड बढाउने र समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रावधान ल्याउन लागेको आशङ्कामा मधेस केन्द्रित दलहरू एकता गर्न लागेका हुन्।
धुम्बाराहीस्थित समर्पण एकेडेमीमा चलिरहेको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)का कुनै पनि प्रतिनिधि उपस्थित छैनन्, यद्यपि जसपाका उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरिएको छ।
बैठकको संयोजन ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले गरेको हो। जसपा नेपालका उपाध्यक्ष यादवलाई बैठकमा बोलाइएको भए पनि उनी समाचार तयार पार्दासम्म उपस्थित भएका छैनन्।
बैठकमा जसपा, लोसपा, तमलोपा, र राष्ट्रिय मुक्ति पार्टी नेपालका नेताहरू उपस्थित छन्।