भक्तपुर, जिल्लाका १७,६९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ। आगामी माघ २२ देखि फागुन ६ सम्म देशभर सञ्चालन हुने खोप अभियान अन्तर्गत भक्तपुरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिने तयारी गरिएको छ।

भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाका अनुसार, सूर्यविनायक नगरपालिकाका ४,१६२, भक्तपुर नगरपालिकाका ६,७४२, मध्यपुरथिमि नगरपालिकाका ४,२०३, र चाँगुनारायण नगरपालिकाका २,५८४ किशोरीलाई खोप लगाइनेछ। कक्षा ६ देखि १० सम्मका १६,६२८ विद्यार्थी र विद्यालयबाहिरका १,०६३ किशोरीलाई खोप दिने योजना छ।
यसका लागि २४३ विद्यालय र ४६ अन्य स्थानमा खोप केन्द्र स्थापना गरिनेछ। अभियान सफल पार्न २८९ स्वास्थ्यकर्मी र ५७० स्वयंसेवक परिचालन हुनेछन्। खोप लगाउँदा कुनै समस्या आएमा भक्तपुर, ख्वप, सूर्यविनायक, चाँगुनारायण नगर अस्पताल तथा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार उपलब्ध गराइने छ।
सरकारले देशभर १६ लाख ८८ हजार ९०० किशोरीलाई लक्षित गरी एचपिभी खोप अभियान सञ्चालन गर्दैछ। यो खोपले पाठेघरको मुखको क्यान्सरबाट ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने विश्वास गरिएको छ। नेपालमा महिलामा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ।
भक्तपुरमा खोप अभियान सफल बनाउन जिल्ला समन्वय समितिका सभापति ईश्वरबहादुर थापा र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समन्वयात्मक प्रयास गरिरहेका छन्।
