काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन आइतबार प्रस्तुत गरिएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी मुद्दाहरूको अनुसन्धान, अभियोजन, बहस, पैरवी, र प्रतिरक्षा कार्यलाई अझ वैज्ञानिक, प्रभावकारी, र तथ्यपरक बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, मुद्दाको सफलताको प्रतिशत बढाउन सके कानुनी शासनको प्रगति हुने र फौजदारी न्याय प्रणाली प्रभावकारी बन्ने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले भने, “मुद्दाको सफलतामा मात्रै होइन, पीडितले न्याय पाए वा नपाएको कुरामा पनि ध्यान दिनु जरुरी छ। पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने सुनिश्चितता महान्यायाधिवक्ताको जिम्मेवारी हो।”
उनले संविधानमा अपराध पीडितको हक सुनिश्चित भएको उल्लेख गर्दै, यसको प्रभावकारी कार्यान्वयनमा महान्यायाधिवक्ता कार्यालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।