काठमाडौं, काठमाडौंको मण्डला थिएटरमा माघ ४ देखि २७ सम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक प्रदर्शन हुने भएको छ। यो नाटक मुन्धुममा उल्लिखित पृथ्वीकै पहिलो नारी मुजिङ्ना खेयङ्नामा आधारित रहेर तयार पारिएको हो।

नाटकको निर्देशन अनिल सुब्बाले गरेका छन्। मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा गरेका हुन्।
नाटकमा पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा भइरहेको ‘मुक्कुम्लुङ संरक्षण’ आन्दोलनको घटनाक्रम समेटिएको छ। यो आन्दोलन ‘नो केबलकार’ को पक्षमा छ, जसमा मुक्कुम्लुङ र लिम्बूहरूको सम्बन्धलाई केबलकार स्थापना गरेपछि विस्थापनको आशंका गरिएको छ।
नाटकको उद्देश्य मुक्कुम्लुङको महत्त्वलाई दर्शाउनु हो। एक थिएटर नेपालका अध्यक्ष विष्णु मोक्तानका अनुसार, नाटक लिम्बुवान भूमि र लिम्बुवानीहरूको शिरको रूपमा मुक्कुम्लुङको प्रतिष्ठालाई देखाउने प्रयास हो। चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोका अनुसार, यो नाटक प्राकृतिक र रैथाने समुदायको आस्थामा भइरहेको दमन र विनाशको विरोधमा कला र सिर्जनाका माध्यमबाट पहिचानको पक्षमा गरिएको आन्दोलन हो।
निर्देशक अनिल सुब्बाले नाटकलाई सिर्जनामार्फत ऐक्यबद्धता जनाउने माध्यमको रूपमा प्रस्तुत गरेका छन्। उनले भने, “पहिचानका लागि यो नाटक आफैंमा एउटा सशक्त आन्दोलन हो। हाम्रो भाषा र संस्कृतिका कुरा किन लुकाइयो? यिनै प्रश्नहरूको जवाफ हो यो नाटक।”
नाटकका प्रमुख कलाकार वेदना राईले पनि नाटकसँग जोडिन पाउँदा खुशी व्यक्त गरे। उनले भने, “नाटकले बाँच्न पाउने अधिकारको सन्देश दिन्छ, केवल मानिसको मात्र होइन, जनावर र बोटबिरुवाको पनि अधिकारको कुरा गर्छ।”
नाटकको लेखन अनिल सुब्बा, गीलु रातोस र विष्णु मोक्तानको संयुक्त प्रयास हो। नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू लगायतका कलाकारहरूको अभिनय रहनेछ। मणि के. राईको कोरियोग्राफी, प्रवृत्ति राई, युकेश राई र आशिष माझीको गायन र वाद्यवादनको सहयोग रहनेछ।