काठमाडौँ, त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वालिङ नगरपालिकालाई १२–० को फराकिलो अन्तरले पराजित गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गर्यो।

खेलमा आर्मीको तर्फबाट विमला चौधरीले चार गोल गर्दै सर्वाधिक गोलकर्ताको भूमिका निर्वाह गरिन्। चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले दुई-दुई तथा विमला विकले एक गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे।
खेलको २३ औं मिनेटमा चन्द्रा भण्डारीको गोलले आर्मीलाई अग्रता दिलाएको थियो। त्यसको दुई मिनेटपछि सपना लामाले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्।
जितसँगै त्रिभुवन आर्मी क्लबले तीन खेलबाट सात अंक जोडेको छ, भने वालिङ नगरपालिकाले तीनै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ।