ललितपुर, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी गर्दै अंक बाँडे।

पहिलो हाफको २२ औँ मिनेटमा पुलिस क्लबकी पूजा रानाले गोल गरे पनि रेफ्री नविन्द्र महर्जनले त्यसलाई मान्यता दिएनन्। अमृता जैसीको फ्रिकिक प्रहारबाट आएको बल आर्मीकी गोलरक्षक अञ्जना रानामगरले रोक्ने प्रयास गर्दा पूजाले बललाई पोष्टको जालीमा पुर्याएकी थिइन्। तर, रेफ्रीले अञ्जनामाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरेपछि पुलिस क्लबले गोलको अपिल गर्यो।
सो घटनाका कारण खेल करिब ३० मिनेट रोकिएको थियो।
लिगमा सोमबार एपीएफ फुटबल क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ, जसको सुरुवात दिउँसो ३ बजे हुनेछ। पाँच टोली सहभागी लिगमा शीर्ष चार स्थानमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् भने पुछारमा रहने टोली बाहिरिनेछ।
लिगको अन्तिम चरणमा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, बागमती, र वालिङ नगरपालिका सहभागी छन्।