काठमाडौं, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनले सक्रिय राजनीतिमा आफ्नो उपस्थिति औपचारिक बनाएका छन्। माओवादी केन्द्रका पदाधिकारी, स्थायी समिति, र केन्द्रीय समितिका बैठकहरूमा उनको उपस्थिति देखिन थालेको छ।

आइतबार काठमाडौंमा जारी केन्द्रीय समितिको पहिलो दिनको बैठकमा पुन सहभागी भएका थिए। यसअघि पनि उनले पदाधिकारी र स्थायी समिति बैठकहरूमा भाग लिँदै आएका थिए।
नन्दकिशोर पुन नेपालका दोस्रो र तेस्रो उपराष्ट्रपति थिए। सात वर्षको उपराष्ट्रपतिको भूमिकापछि उनी पार्टी राजनीतिमा सक्रिय देखिएका हुन्। माओवादी नेताहरूका अनुसार पुनको इच्छाअनुसार नै पार्टीले उनलाई भूमिका दिन थालेको हो।
आइतबारको बैठकमा पुनले कुनै धारणा राखेनन्। बैठकमा उद्घोषणको जिम्मेवारी महासचिव देव गुरुङले लिएका थिए। बैठकको सुरुवातमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुअघि मञ्चमा रहेका नेताहरूलाई सम्बोधन गरे। महासचिव गुरुङले पुनलाई ‘पूर्वउपराष्ट्रपति’ भन्दै औपचारिक आसन ग्रहण गराएका थिए।
बैठकमा पुनलाई अध्यक्ष प्रचण्डसँगै बस्ने व्यवस्था गरिएको थियो। उनको ठाउँअघि ‘उपाध्यक्ष’ लेखिएको नेमप्लेट राखिएको थियो। माओवादी नेताहरूले प्रचण्डको नेतृत्वमा अन्य नेताहरूको चासो व्यवस्थापनका लागि पनि पुनलाई अघि सारिएको स्वीकार गरेका छन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीन उपाध्यक्ष—कृष्णबहादुर महरा, अग्नि सापकोटा, र पम्फा भुसाल छन्। महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, र हरिबोल गजुरेल छन्।
राजनीतिक विश्लेषकहरूले उपराष्ट्रपतिजस्तो उच्च ओहदामा बसेका व्यक्तिहरूले पुनः दलको राजनीतिमा सक्रियता देखाउनुलाई असामान्य र अनुपयुक्त ठहर गर्दै आएका छन्।