काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र गुटबन्दी र अराजकता बढेको भन्दै तीव्र असन्तोष व्यक्त गरेका छन्। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले पार्टीको गतिविधि वर्गीय पहिचानलाई समाप्त पार्ने दिशामा अघि बढिरहेकोमा गम्भीर चिन्ता व्यक्त गरे।

प्रचण्डले भने, “हामीले जुन बाटो हिँडिरहेका छौँ, त्यो सहि छैन। पार्टी व्यक्तिगत स्वार्थ, गुटबन्दी र अराजकतामा केन्द्रित हुँदै गइरहेको छ। यो प्रवृत्ति रोक्न आवश्यक छ।”
एक स्थायी समिति सदस्यका अनुसार, प्रचण्डले बैठकमा पार्टीको बिग्रँदो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले भने, “जनता हामीलाई कांग्रेस र एमालेजस्तै देख्न थालेका छन्। यो गलत हो र हाम्रो वर्गीय पहिचान हराउँदै गएको छ।”
प्रचण्डले चेतावनी दिए, “यदि माओवादी सुधारिएन भने पार्टीका नेता-कार्यकर्ताको भविष्य अन्धकारमय हुनेछ। देशकै भविष्य डामाडोल हुन सक्छ।”
प्रचण्डले पार्टीलाई सुधार्न नयाँ संकल्प र योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “यो अन्तिम मौका हो। हामीले आफैंलाई रूपान्तरण गर्दै नयाँ मार्ग अवलम्बन गर्नुपर्छ।”
