ललितपुर, ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनको सहयोगमा एपीएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा बागमती युवा क्लबलाई ५-१ को फराकिलो अन्तरले हराएको छ।

एपीएफको जितमा रश्मीकुमारीले ह्याट्रिक गोल गर्दै आफ्नो उत्कृष्ट क्षमता देखाइन्। त्यस्तै, गीता राना र सविता राना मगरले समान एक/एक गोल थप्दै टोलीलाई सानदार जित दिलाए। बागमतीका लागि पुष्माकुमारी खड्काले एक मात्र सान्त्वना गोल फर्काइन्।
यो जितसँगै एपीएफले लिगको जितको यात्रा सुरु गरेको छ भने बागमतीले लगातार दोस्रो हार ब्यहोरेको छ। बागमती लिगको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग २-० ले पराजित भएको थियो।
लिगको अन्तिम चरणमा कोशी प्रदेशले नाम फिर्ता लिएपछि बागमतीले सहभागी हुने अवसर पाएको हो। लिगमा एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, बागमती र वालिङ नगरपालिका गरी पाँच टोली सहभागी छन्।
लिगको नियम अनुसार, शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् भने पुछारमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ।
एपीएफको यो जितले उनीहरूलाई प्लेअफको सम्भावना बलियो बनाएको छ भने बागमतीका लागि चुनौती थपिएको छ।