काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी छ। बैठक शुक्रबार बिहान ८ बजेदेखि कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको हो। महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत धारणा राख्ने क्रम जारी रहेको विप्लवको सचिवालयले जानकारी दिएको छ।

बिहीबारको बैठकमा महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ’ विषयमा १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। सचिवालयका अनुसार, अहिले बैठकमा ९ वटा समूहमा विभाजन गरेर नेताहरूले आफ्नो धारणा व्यक्त गरिरहेका छन्। दिउँसो ३ बजेसम्म २५ जनाले विप्लवको प्रतिवेदनमाथि आफ्ना विचार राखिसकेका छन्।

विप्लवले आफ्नो प्रतिवेदन पेस गर्ने क्रममा नेपालको वास्तविक प्रतिनिधि गर्ने पार्टी नेकपा मात्र रहेको दाबी गरेका थिए। उनले आफ्नो पार्टीले सबै माओवादी शक्तिहरूसँग एकताको प्रस्ताव अघि बढाएको तर ती पार्टीहरू एकतामा जिम्मेवार नभएको बताएका थिए। नेपालमा सबै पार्टीहरू असफल भएको भन्दै विकल्पको रूपमा आफ्नो पार्टीलाई मात्र प्रस्तुत गरेका विप्लवले २०८४ को निर्वाचनलाई क्रान्तिको मोर्चाको रूपमा उपयोग गर्ने योजना पनि सार्वजनिक गरे। बैठक ३० गतेसम्म सम्पन्न हुने सचिवालयले जनाएको छ।
