काठमाडौँ, नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सकिएको छ।

केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको हो।
मतदान सकिएसँगै, केन्द्रीय निर्वाचन आयोगले मतगणना प्रक्रिया सुरु गर्ने जनाएको छ। आयोगका अनुसार, मतगणना आज रातिदेखि सुरु हुनेछ र यथासक्य छिटो परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले भने, “मतदान सकिएको छ, अब छिटो परिणाम सार्वजनिक गर्नेमा हामी जुटेका छौं।” मतगणना मतदान भएका स्थानमै गरिने छ।
निर्वाचन समितिले बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मतदानको समय तोकेको थियो।
महासंघको केन्द्रीय अध्यक्ष पदमा देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरीका उम्मेदवार रहेका छन्।
त्यस्तै, महिला उपाध्यक्षका लागि गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिव पदमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपाने उम्मेदवार बनेका छन्।
