वार्सा, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यही हिउँदमा सुरु हुनसक्ने संकेत दिएका छन्। युक्रेनका दृढ समर्थक टस्कले आगामी महिना युरोपेली संघ (इयु) को अध्यक्षता सम्हाल्दै छन्। उनले विदेशी नेताहरूसँग हुने वार्ताहरूको विषयमा पनि जानकारी गराए।

मङ्गलबार, टस्कले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्ने र बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पोल्याण्डमा स्वागत गर्ने योजना रहेको बताए।
“हाम्रो इयु अध्यक्षता राजनीतिक दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ। शान्ति वार्ता यही हिउँदमा सुरु हुने सम्भावना छ, यद्यपि केही चुनौतीहरू बाँकी छन्,” टस्कले भने।
पोल्याण्डको समर्थन र आगामी कूटनीतिक गतिविधि
रुसले युक्रेनमा आक्रमण सुरु गरेको तीन वर्षपछि पनि पोल्याण्ड युक्रेनको बलियो समर्थकको रूपमा उभिएको छ। इयु र नाटो सदस्यहरूले युक्रेनलाई पश्चिमी सैन्य सहायताका लागि महत्त्वपूर्ण रसद केन्द्रको रूपमा प्रयोग गर्दै आएका छन्।
टस्कले भने, “राष्ट्रपति म्याक्रोन बिहीबार वार्सामा हुनुहुनेछ र पेरिस वार्ताको नतिजाबारे जानकारी दिन चाहनुहुन्छ।”
गत शनिबार पेरिसमा फ्रान्सका राष्ट्रपति म्याक्रोन, युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच त्रिपक्षीय बैठक भएको थियो। टस्कले उक्त बैठकलाई “छोटो तर महत्त्वपूर्ण” भनेका छन्।
अन्य नेताहरूसँगको समन्वय
टस्कले जर्मन विपक्षी नेता फ्रेडरिक मेर्ज पनि युक्रेन भ्रमणपछि पोल्याण्ड आउने जानकारी दिए। उनले स्क्यान्डिनेभियन र बाल्टिक सहयोगीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए।
“स्विडेनका प्रधानमन्त्रीसँग छलफल गरें, र केही घन्टामै एस्टोनियाका प्रधानमन्त्री यहाँ वार्सामा हुनुहुनेछ,” उनले भने।
पोल्याण्डको इयु अध्यक्षताले युक्रेन र रुसबीच शान्ति स्थापना गर्ने नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
रासस/एएफपी
