काठमाडौँ, अमेरिकाले युक्रेनलाई २० अर्ब डलर आर्थिक सहायता उपलब्ध गराएको छ, जुन रुसबाट जफत गरिएको सम्पत्तिबाट लिइएको हो।

बीबीसीका अनुसार यो रकम ५० अर्ब डलरको सहयोग प्याकेजको एक हिस्सा हो, जुन जी७ राष्ट्रहरूले गत जुनमा घोषणा गरेका थिए। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायता प्रदान गर्नुको अर्थ “रुसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने” बताएका छन्।
उनले मङ्गलबार अमेरिकाले विश्व बैंकको कोषमा २० अर्ब डलर जम्मा गरेको र यो रकम युक्रेनलाई प्रदान गरिने जानकारी दिए।
यो सहायता यस्तो समयमा आएको हो, जब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि आफूले पदभार ग्रहण गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए। ट्रम्पले आगामी जनवरी २० मा अमेरिकी राष्ट्रपतिको पद सम्हाल्ने तयारी गरिरहेका छन्।
