काठमाडौं, भारत भ्रमण सकेर भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार नेपालमा ट्रान्जिट गर्ने भएका छन्। नेपालमा चार–पाँच घण्टा रहने क्रममा उनले स्वयम्भू र बौद्ध स्तूपको दर्शन गर्ने कार्यक्रम रहेको छ।

प्रहरी स्रोतका अनुसार, बिहान ९:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि राजा जिग्मे सीधा स्वयम्भू महाचैत्यतर्फ जानेछन्। त्यसपछि उनले बौद्ध स्तूपको दर्शन गर्नेछन्। यी दुई स्थलहरूको दर्शन सकेपछि उनी विमानस्थल फर्केर आफ्नो देश भुटान प्रस्थान गर्नेछन्।
भुटानी राजाको नेपाल भ्रमणका क्रममा सुरक्षा र अन्य व्यवस्थाको जिम्मा नेपाल सरकारले लिएको छ। राजाको आगमनलाई ध्यानमा राख्दै बुधबारदेखि त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालमा रहँदा कुनै औपचारिक भेटघाट कार्यक्रम नरहेको प्रहरी स्रोतले जनाएको छ।
यसैबीच, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन्।
भुटानी राजा भारतमा सीमा विवादसम्बन्धी विषयमा छलफल गर्न गएको बताइएको छ। भुटान र चीनबीचको सीमा विवादले भारतलाई पनि प्रत्यक्ष जोड्ने भएकाले यो भ्रमणलाई कूटनीतिक हिसाबले महत्वपूर्ण मानिएको छ। भारत भ्रमणको क्रममा उनले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन्।
भुटानका प्रधानमन्त्री तशेरिङ तोबगेले यसअघि भारत भ्रमण गरेका थिए भने भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले पनि भुटान भ्रमण गरेका थिए। गत असोजमा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्दा भुटानले उनलाई राजकीय सम्मान प्रदान गरेको थियो।
भुटानी राजाको यो नेपाल ट्रान्जिटले नेपाल-भुटान सम्बन्धलाई थप नजिक बनाउने अपेक्षा गरिएको छ।
