काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठक बिहीबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार बैठकमा स्थानीय तह उपनिर्वाचन, प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण, र पार्टी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ।
हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले उल्लेखनीय प्रदर्शन गरेको थियो। पार्टीले ४१ स्थानमा प्रतिस्पर्धा गरी पालिकाको एक अध्यक्ष र एक उपप्रमुख पदसहित ११ स्थानमा विजय हासिल गरेको छ। यस उपलब्धिले माओवादीलाई दोस्रो दलको रूपमा स्थापित गराएको छ।
बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) सम्बन्धी उठेका आशंका र त्यसका सम्भावित प्रभावबारे पनि छलफल हुने बताइएको छ।
त्यसैगरी, अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबारे बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ। उमेर हदको विवादका कारण सम्मेलन स्थगित भई मंसिर २३ र २४ मा सारिएको थियो। तर, विद्यार्थी नेतृत्व चयनमा पार्टीभित्रको विवाद गहिरिँदा सम्मेलन अनिश्चित भएको छ। स्रोतका अनुसार बैठकले सम्मेलन पुनः स्थगित गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ।
बैठकले पार्टीका आगामी रणनीति र गतिविधि तय गर्ने अनुमान गरिएको छ।
