काठमाडौँ, देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहँदा तराईका केही स्थान र पहाडका थोरै ठाउँमा हुस्सु लागेको छ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ। ती क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ।
महाशाखाले हल्का वर्षा र हिमपातका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी हिमाली क्षेत्रका बासिन्दा र पर्यटकहरूले सावधानी अपनाउनु पर्ने महाशाखाको सुझाव छ।
