काठमाडौँ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) द्वारा जारी गरिएको पक्राउ पुर्जीको कडा आलोचना गरेका छन्। उनले यसलाई ‘यहुदी विरोधी’ निर्णयको संज्ञा दिएका छन्।

नेतन्याहुले आफ्नो एक्स खाताबाट भिडियो सन्देश जारी गर्दै भने, “आईसीसीले हामीमाथि गाजामा नागरिकलाई लक्षित गरेको झूठा आरोप लगाएको छ। तर हामीले नागरिकको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गरेका छौँ।”
आईसीसीले नेतन्याहुसहित इजरायलका पूर्वरक्षामन्त्री योअभ गालान्ट र हमासका कमान्डर मोहम्मद डेफविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो। इजरायलले भने जुलाईमा गाजामा भएको आक्रमणमा मोहम्मद डेफ मारिएको दाबी गरेको छ। तर, आईसीसीले उनलाई मृत मानिरहेको छैन।
बिहीबार जारी एक विज्ञप्तिमा नेतन्याहुले भने, “हेगको अदालतले हामीलाई जानाजानी भोकमरीको नीति अपनाएको आरोप लगाएको छ। तर, हामीले गाजाका जनतालाई ७ लाख टन खाद्यान्न पठाएका छौँ। हामीले लाखौँ सन्देश, फोन र पर्चा वितरण गरेर सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेका छौँ। तर, हमासले उनीहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ।”
भिडियो सन्देशसँगै नेतन्याहुले लेखेका छन्, “हेगको यो यहुदीविरोधी निर्णयलाई इतिहासको ‘ड्रेफस मुद्दा’ जस्तै सम्झन सकिन्छ, जसको अन्त्य सत्यको विजयमा हुनेछ।”
ड्रेफस मुद्दा के हो?
अल्फ्रेड ड्रेफस एक यहुदी फ्रान्सेली अफिसर थिए, जसलाई १८९४–१९०६ को बीचमा गलत आरोप लगाएर जर्मन जासुस ठहराइएको थियो। उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। पछि निर्दोष ठहरिएपछि यो प्रकरणलाई यहुदीविरोधी षड्यन्त्रको प्रतीकका रूपमा लिइयो।
