काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंको दरबारमार्गमा जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्दैछ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा हुने सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्।

जनवर्गीय संगठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु र सम्पर्क मञ्चलगायतका संगठनहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।
सत्तारुढ दलले सडकमा शक्ति प्रदर्शन गरिरहेकै समयमा विपक्षी दलहरू पनि सरकारको नीति र कार्यशैलीको आलोचनासहित संघर्षमा उत्रिएका छन्। विपक्षी दलहरूको आलोचनालाई जवाफ दिन एमालेले जागरण सभाको माध्यम प्रयोग गर्न लागेको देखिन्छ।
जागरण सभा संयोजन समितिका सहसंयोजक कैलाश ढुंगेलले उपत्यकाका तीन जिल्लामा एमालेको शक्ति प्रदर्शन हुने दाबी गरेका छन्।
