काठमाडौं, जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले हालै सम्पन्न आम निर्वाचनमा बहुमत गुमाएको छ, जसले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको यस देशको आगामी राजनीतिक र आर्थिक परिदृश्यलाई गम्भीर असर पार्न सक्ने आकलन गरिएको छ।

जापानको सरकारी समाचार संस्था एनएचकेका अनुसार, प्रधानमन्त्री शिगेरु इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत कायम राख्न असफल भएका छन्। जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ। ४६५ सिट भएको तल्लो सदनमा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ तर एलडीपी र उसका गठबन्धन सहयोगी दल कोमितोले मात्र २०९ सिट जित्न सकेका छन्। यो नतिजा एलडीपीको लागि सन् २००९ पछिकै खराब परिणाम हो।
प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको बताएका थिए, र आइतबारको नतिजाले उनको सरकारलाई झट्का दिएको छ। कोमितोका प्रमुख केइची इशी आफ्नै जिल्लामा पराजित भएका छन्, जसले गठबन्धनको लागि थप कठिन परिस्थिति निम्त्याएको छ।
चुनाव परिणामले प्रधानमन्त्री इशिबाको लागि आगामी दिनमा संसदबाट आफ्ना नीति पारित गराउन अझै जटिल बन्न सक्ने आँकलन गरिएको छ। बहुमत गुमाए पनि सरकारको नेतृत्वमा भने परिवर्तन नहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
