काठमाडौं, समता घरेलु लघुवित्त वित्तीय संस्थाले आज सोमबारदेखि आफ्नो थप सार्वजनिक निष्कासन (एफपीओ) को लागि आवेदन खुला गरेको छ। कम्पनीले कुल ३ लाख ५० हजार ९०४ कित्ता सेयर एफपीओमार्फत निष्कासन गर्न लागेको हो। प्रतिकित्ता मूल्य १ सय रुपैयाँ राखिएको यो एफपीओमा सर्वसाधारणले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले एफपीओमार्फत कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्ने योजना बनाएको छ। आवेदन मेरोसेयर अनलाइन प्रणाली र सम्बन्धित बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एफपीओ निष्कासन र बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना सेयरमध्ये कम्तीमा ३० प्रतिशत सर्वसाधारणमा जारी गर्नुपर्ने नियमन अनुरूप, समता घरेलु लघुवित्तले एफपीओ ल्याएको हो। हाल यस संस्थामा सर्वसाधारणको हिस्सा २६.२० प्रतिशत रहेको छ, जसले एफपीओ जारीपछि ३०.५२ प्रतिशत पुग्नेछ। यसैगरी, संस्थापकको हिस्सा ६९.४८ प्रतिशत हुनेछ।
साविकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरी बनेको समता घरेलु लघुवित्तको हिजो आइतबार बजार बन्द हुँदा प्रतिकित्ता मूल्य ८५२ रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ।