काठमाडौँ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ भने कोशी, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव परेको छ। यसका साथै स्थानीय वायुले पनि केही प्रभाव पारेको महाशाखाले बताएको छ।

हाल कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ, तर ती भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
मङ्गलबार (असोज २९) पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने पूर्वानुमान गरिएको छ।
