काठमाडौँ, कोशी प्रदेश, मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ।

शुक्रबार, कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा रहने बताइएको छ। साथै, कोशी प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मौसमका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।
