काठमाडौं, दशैंको अवसरमा सर्वसाधारणको सहज यात्रा सुनिश्चित गर्न नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दशैंमा सार्वजनिक यातायातका साधन न्यून चल्ने भएकाले यात्रुहरूलाई सहायता पुर्याउन नेपाल प्रहरीले दुईवटा बस चलाउने योजना बनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीले जानकारी दिँदै एक बसले रिङरोडभित्रका यात्रुहरूलाई सेवा दिने र अर्को बसले रिङरोड बाहिरका यात्रुहरूको सहजीकरण गर्ने बताए।
बसका रुटहरू:
१. रुट नम्बर १:
यो बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर वालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुँदै जयनेपाल हल पुग्नेछ र पुनः सोही रुटबाट फर्केर नक्साल आइपुग्नेछ।
२. रुट नम्बर २:
यस रुटमा बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा हुँदै चक्रपथ, टिचिङ, बालुवाटारबाट फर्केर प्रहरी प्रधान कार्यालय नक्सालमा आइपुग्नेछ।
यो सेवाले दशैंको समयमा यात्रा गर्न कठिनाइ भएका यात्रुहरूको आवतजावतलाई सहज बनाउने विश्वास गरिएको छ।
