काठमाडौँ, नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। क्लबले पहिलो सहभागितामा नै अपराजित रहँदै च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

शनिबार राति मालेमा भएको फाइनलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भीसीलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पुलिस क्लबले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ को नतिजामा जीत हासिल गर्यो।
लिग चरणमा भएको पहिलो खेलमा पनि पुलिस क्लबले हुमोलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपको यात्रा सुरु गरेको थियो।
नेपालको लिग विजेताका रुपमा च्याम्पियनसिपमा भाग लिएको पुलिस क्लबले राष्ट्रिय टोलीका खेलाडीहरू, एपीएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना, साथै न्यू डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।