आइतबार, ०६ असोज २०८१, ०६ : ३३
सबै कुरा स्वाभाविक चलिरहेको भए अहिले म चिकित्साशास्त्र अध्ययनको अन्तिम वर्षमा हुने थिएँ । अबको केही महिनामै डाक्टर मनर हुनेवाला थिएँ । तर आज मेरो अध्ययन रोकिएको छ । इजरायलको नरसंहारकारी हमलाका कारण म र मजस्तै हजारौँ अन्य प्यालेस्टिनीहरूको घर ध्वस्त बनाइदिएको छ । हामीलाई हाम्रो पठनपाठन सञ्चालन गर्न अप्ठेरो बनाइदिएको छ । यसै क्रममा मैले पाँच महिनाको भागदौड र विस्थापन सहेको छु ।
कुनै समय गाजामा हाम्रो बिहानी विद्यालयका घन्टीको आवाज र प्रभातकालीन व्यायाममा लामबद्ध केटाकेटीका हाँसो र गफगाफको हल्लाबाट सुरु हुन्थ्यो, तर अहिले हाम्रा हरेक बिहान कानै फुट्लाजस्तो आवाजका बमवर्षाले चकनाचुर पारिदिएका छन् । साना केटाकेटीहरू विद्यालयमा लामबद्ध हुनुको साटो थप अर्को एक दिन बाँच्न पाउने आशामा पिउने पानीको लाइनमा उभिरहेका हुन्छन् ।
गत मार्चको अन्त्यमा आएको एक प्रतिवेदन अनुसार गाजाका ९० प्रतिशत विद्यालय भवनहरू ध्वस्त भएका छन् । दिनानुदिन अवस्था झनै खराब हुँदै गएको छ । बर्खाको समयमा आश्रयका लागि प्रयोग भएका विद्यालयमा इजरायलले बम प्रहार ग¥यो । गत अगस्टमा शेख रदवानको विद्यालय भवनमा भएको बम आक्रमण र कलिला नानीका छरपस्ट मृत शरीरका दृश्य भयावह थिए । यी भविष्यका अपार सम्भावना र निर्दोषिताका प्रतिविम्ब साना नानीका क्षतविक्षत शरीर केवल सहायक क्षति वा ‘कोल्याटरल ड्यामेज’का रूपमा मात्र लिइए ।
पछि त्यही महिनामा इजरायलले अल–ताबिइन धार्मिक विद्यालय र मस्जिदमा आक्रमण ग¥यो । कोही पनि बाँच्न सकेनन् । ९३ जना एकै ठाउँमा मारिए । एक स्थानीयले समाचार संस्था एएफपीलाई बताए अनुसार साना नानीहरूका शरीर च्यातिएर टुक्रा–टुक्रा भएर छरिएका थिए । यी टुक्रा प्लास्टिकका झोलामा संकलन गरिएको थियो । कस्तो होला सोच्नुस् त ! तपाईंको बच्चा कसैले प्लास्टिकका झोलामा क्षतविक्षत मासुको पोका बनाएर ल्याइदिएको छ । ती टुक्रा, जो केही समय अघिसम्म जीवनको रूपमा थिए, परिवारको रूपमा थिए, भविष्यको रूपमा थिए । यो शृंखला अझै उस्तै छ । यही साता पनि संयुक्त राष्ट्र संघले सञ्चालन गरेको विद्यालयमा १८ जनाको मृत्यु हुने गरी बमबारी भयो ।
यी आक्रमण भवनमा मात्रै निसाना बनाएर भएका छैनन् । यिनीहरूले त सिङ्गै पुस्ताको भविष्यमाथि आक्रमण गरिरहेका छन् । सिकाइको पवित्र स्थल मानिने विद्यालय आज विस्थापित, घरबारविहीन र टुहुरा मानिसका आश्रयस्थल बनिरहेका छन् । हाम्रा शिक्षालयले निर्धारित काम गरिरहेका छैनन् । तिनीहरू त बमले ध्वस्त पारिएको छ । यस्ता घटनाका तथ्यांक कहालीलाग्दा छन् । २ अप्रिलसम्म नै पाँच हजार ४७९ विद्यार्थी र २६१ शिक्षक मारिइसकेका थिए ।
साना केटाकेटीहरू विद्यालयमा लामबद्ध हुनुको साटो थप अर्को एक दिन बाँच्न पाउने आशामा पिउने पानीको लाइनमा उभिरहेका हुन्छन् ।
यस्तो बर्बादीका बाबजुद गाजाको आत्मा अविचलित छ । हाम्रो साक्षरता दर संसारकै उच्चतममध्ये एक लगभग ९८ प्रतिशत छ । हामी यसलाई जोगाइराख्न दृढ छौँ । भग्नावशेषमा पनि आमाहरूले आफ्ना नानीहरूलाई ‘ए–बी–सी–डी’ पढाउँदै गरेको तपाईं देख्न सक्नुहुन्छ । जलिरहेका घरका काठको छेउमा कतै तपाईं कुरान वाचनको आवाज सुन्न सक्नुहुन्छ । विद्यालयहरू त ध्वस्त पारिए तर मन–मस्तिष्कबाटै अझै सिक्ने–सिकाउने क्रम जारी छ ।
ध्वस्त भएका विद्यालयले शैक्षिक वर्षमा मात्रै अवरोध गर्दैनन्, अझै धेरै कुरामा असर पार्छन् । शिक्षाले दिने स्थायित्व र सहजतालाई नराम्ररी असर पार्छन् । गाजा छाडेर हिँडेका हामी विस्थापितहरू पनि यो समस्याको हल नभेटेर आफूलाई विचलित पाउँछौँ । उदाहरणका लागि इजिप्टका विद्यालयले पटक–पटक गाजाका बालबालिकालाई स्थायी बसोबासको अनुमतिबेगर भर्ना लिन अस्वीकार गरेका छन्, तर यस्तो दस्ताबेज पाउन प्यालेस्टिनीलाई धेरै नै अप्ठेरो हुने गर्छ । हामी घर छाडेर भाग्नुपर्दा बढीमा जन्मदर्ता वा कसै कसैले पासपोर्टसम्म मात्रै बोक्न पाएका थियौँ ।
यदाकदा विकल्पका रूपमा भन्ने गरिएका अनलाइन विद्यालय व्यावहारिक समाधान हुन सक्दैनन् । एउटा सानो बच्चा एक्लै ल्यापटपको अगाडि बसेर शैक्षिक वातावरण र सामाजिक अन्तक्र्रियाको अभावमा सिक्ने भन्ने कुरा नै अव्यावहारिक हो । बच्चालाई शैक्षिक पाठभन्दा अझै थप अरु कुरा चाहिएको हुन्छ । उनीहरूलाई विद्यालयले दिने भावनात्मक, मनोवैज्ञानिक साथ चाहिएको हुन्छ, जुन कुरा उनीहरूबाट खोसिएको छ ।
केही मुलुक र संस्थाहरूले गाजाका मानिसलाई उनीहरूको उन्नत भविष्य निर्माणका सुरुवाती काममा सहयोग गर्न सुरु गरेका छन् । विद्यार्थी आदान–प्रदान कार्यक्रम, ऐच्छिक पाठ्यक्रम, ग्रीष्मकालीन पाठ्यक्रम केवल शिक्षा प्रदानका लागि मात्र नभएर बुझाइलाई जोड्ने सेतुका रूपमा पनि महत्त्वपूर्ण पहलकदमी हुन सक्छन् । मैले आफैँ पनि ओस्लो विश्वविद्यालयको यस्तै एउटा विद्यार्थी आदान–प्रदान कार्यक्रममा भाग लिन पाएको थिएँ । यी कक्षा प्रसूति रोग, बालरोग, स्त्रीरोगजस्ता विषयमा केन्द्रित थिए । जसले मलाई आफ्नो ज्ञानलाई थप तिखार्न र सिक्दै गरेका अन्य विद्यार्थीको समुदायसँग जोडिन राम्रो मद्दत गरे ।
म तपाईंहरूको ऐक्यबद्धता र केही फलदायी कामका लागि आग्रह गर्ने ध्येय साथ यसरी लेख्दै छु । कृपया मजस्तै धेरै विद्यार्थीलाई आफ्नो शिक्षा जारी राख्ने मौका दिने अन्तर्राष्ट्रिय छात्रवृत्तिका लागि वकालत गरिदिनुहोला । प्रत्येक बालबालिकाका लागि जस्तोसुकै परिस्थितिमा उत्तिकै अत्यावश्यक शिक्षाको अधिकारबारे आफ्ना राजनीतिक नेताहरूलाई भनिदिनुहोला र आवश्यक परेको स्थानमा अडान लिइदिनुहोला । हाम्रो आवाजलाई व्यापक बनाउँदै तपाईंले गाजाका विद्यार्थीको दुर्दशामा अझै धेरै मानिसको ध्यान तान्न मद्दत गर्न सक्नुहुन्छ, साथै जस्तै संकटका समयमा पनि शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरा स्थापित गर्न सहयोग गर्न सक्नुहुन्छ ।
यी तमाम दुःखका बाबजुद मभित्रको आशा अटल छ । मसँग मेरा सपना ज्युँदै छन् । पक्कै एक दिन म मेरो विश्वविद्यालयको दीक्षान्त समारोहमा डाक्टर मनर भनेर बोलाइनेछु ।
शिक्षा केवल सिकाइ मात्रै कदापि होइन, यो त मानवताको सुरक्षा पनि हो । गाजाका विद्यार्थीको शिक्षालाई समर्थन गरेर तपाईंले डाक्टर, इन्जिनियर, शिक्षक र नेताहरूको बन्न सक्ने आशा र मौकालाई जीवितै राख्न सक्नुहुन्छ, जसले आउँदा दिनमा ध्वस्त गाजाको पुनर्निर्माण गर्न र हाम्रा घाउमा मलम लगाउन ठुलो भूमिका खेल्छन् ।
यी तमाम दुःखका बाबजुद मभित्रको आशा अटल छ । मसँग मेरा सपना जिउँदै छन् । पक्कै एक दिन म मेरो विश्वविद्यालयको दीक्षान्त समारोहमा डाक्टर मनर भनेर बोलाइनेछु । गाजाका साना नानीहरू हरेक बिहान बमको गर्जनको सट्टा विद्यालयको घन्टी सुनेर ब्युँझिनेछन् । साँच्चै एक दिन गाजा विनाशको उदाहरणका रूपमा होइन, जस्तोसुकै दुःखमा सम्हालिएको समाजको रूपमा, शिक्षित युवा प्रतिभाहरूको तागतको पर्यायका रूपमा चिनिनेछ ।
(मनर अल खोदारी गाजाको रिमाल नेबरहुडमा चिकित्साशास्त्रका विद्यार्थी हुन् । इजरायलको आक्रमणबाट विस्थापित भएर इजिप्ट पुगेकी उनी विभिन्न विश्वविद्यालयमा आफ्नो अध्ययन निरन्तरताको प्रयासमा असफल हुँदै हाल ओस्लो विश्वविद्यालयमा आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भएकी छिन् ।)
(यो लेख द गार्जियनबाट लिइएको हो ।)