काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रस्थान गर्दैछन्।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यस वर्षको महासभाको साधारण बहसको विषय ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ हो।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको उद्घाटन सत्रमा र असोज ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।
न्यूयोर्कमा रहँदा, प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। यसका साथै, समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकमा पनि सम्बोधन गर्नेछन्।
उनले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नेछन्, साथै असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यतालिका छ।
प्रधानमन्त्री ओलीको भ्रमणमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन्। प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।
