काठमाडौं, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ, जसको कारण देशभर मनसुनको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।
आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा बाढी, गेग्रान बहाव, पहिरो तथा भू-क्षयजस्ता जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
