काठमाडौं, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वतिर सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशभर मनसुनको प्रभावका साथै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि देखिएको छ।

यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, र देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहन सक्छ। बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम प्रदेशका केही भागहरूमा र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरीको सम्भावना पनि छ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहन सक्छ भने अन्य भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।