१४ असार, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन्।

सरकारले जलाशययुक्त आयोजना बनाउन खोजेको बुढीगण्डकीलाई डा. भट्टराईले बहुउद्देश्यीय आयोजनाको रूपमा सञ्चालन गर्नुपर्ने माग राखेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएर बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजना बनाउनुपर्ने आग्रह गरेका हुन्।
भट्टराईले बुझाएको तीन बुँदे मागपत्रमा पहिलो नम्बरमा हालको विद्युत् प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ। यस प्राधिकरणमार्फत समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूको जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ।
प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउन डा. भट्टराई पार्टीका नेता र गोरखाका सांसदहरूसहित सिंहदरबार पुगेका थिए।
नेसपा नेता मानुषी यमी भट्टराईले बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको काम भदौ मसान्तभित्र सुरु गर्न सरकारलाई अल्टिमेटम दिएको जानकारी दिइन्। काम सुरु नभए सशक्त आन्दोलन गर्ने जानकारी पनि प्रधानमन्त्री प्रचण्डलाई गराइएको उनले बताइन्। ‘भदौसम्म पनि यसलाई सरकारले गम्भीरतापूर्वक नलिएमा असोज १ देखि आन्दोलनमा जाने चेतावनी दिएका छौं,’ मानुषीले भनिन्।
उनका अनुसार बुढीगण्डकी आयोजनामा सरकारको खर्च बढेको भए पनि प्रगति एकदमै न्यून छ। त्यसैले यसलाई तत्काल काम अघि नबढाए आयोजना ‘कोल्याप्स’ हुने खतरा रहेको उनले बताइन्।
प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए। ‘उहाँहरू सबैको सल्लाह सुझाव लिएर मागहरू प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको छ,’ मानुषीले भनिन्, ‘प्रधानमन्त्रीज्यूले मलाई तपाईंको सल्लाह चाहिएको बेला तपाईंले नै गम्भीरतापूर्वक ल्याएपछि काम गर्न सहयोग गर्छु भन्नुभएको छ।’