काठमाडौँ, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास अवस्थित रहेको छ। यसका कारण देशभर मनसुनी वायुको प्रभाव छ, र पश्चिम बंगाल र त्यसको आसपासको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि देखिएको छ।

सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा अत्यधिक वर्षाको सम्भावना पनि छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको पूर्वी भू-भागमा हावाहुरीको सम्भावना छ। यस्तो अवस्थामा गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षयका जोखिमबाट बच्न महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
मंगलबार पनि देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा मौसम सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ।