काठमाडौं, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको छ, जुन हालसम्मकै उच्च हो। शनिबार सुनचाँदीको मूल्य तोकिँदैन, तर शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ रहेको थियो। शुक्रबार बिहीबारको तुलनामा प्रतितोला ३ हजार रुपैयाँले सुनको मूल्य वृद्धि भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसले चाँदीको मूल्यमा ४० रुपैयाँको वृद्धि देखाएको छ।