काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। माओवादी केन्द्रले उपसभामुखलाई हटाउने सत्तापक्षको तयारीको सशक्त प्रतिवाद गर्ने योजना समेत अघि सारेको छ।

शुक्रबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले हालको राजनीतिक अवस्थाको विश्लेषण गर्दै पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ। प्रमुख सचेतक हितराज पाण्डे र गोपी अछामीले संसदमा अहिलेसम्म भएका गतिविधिबारे प्रतिवेदन पेश गरेपछि, संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा खेलेको भूमिकाप्रति सन्तुष्टि जनाएका थिए।
माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईद्वारा माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेर टिप्पणी गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। माओवादीका अनुसार यो शब्दले माओवादी आन्दोलन, जनमुक्ति सेना, र शान्ति सम्झौताको अपमान गरेको छ। माओवादीले संसदको रेकर्डबाट ‘हिंसा’ शब्द हटाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ, तर सभामुखले उक्त शब्द असंसदीय नभएको ठहर गरेका छन्।
बैठकले संविधान संशोधनको मुद्दा उठाउने निर्णय गर्दै, जनतामा जान र संसदमा छलफल गर्ने योजना बनाएको छ। साथै, उपत्यकाका नदी किनारका संरचनालाई हटाउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै सरकारलाई ‘भ्याकेट’मा जाने सुझाव दिएको छ।
पाँचौँ निर्णयमा, माओवादीले राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति पदमा मायाप्रसाद शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।