काठमाडौँ, नेपालमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलँदै गएको छ। सन् २०२४ को जनवरीमा २४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकोमा, सेप्टेम्बर महिनाको ११ दिनमा मात्र १,३३१ जनामा डेंगु देखिएको छ।

गत अगस्ट महिनामा ४,२६६ जनामा डेंगु भएको थियो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) अनुसार यस वर्ष जनवरीदेखि हालसम्म ८,१५९ जनामा डेंगु फैलिएको छ, र यो सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सावधानी नअपनाउँदा डेंगुको सङ्क्रमण बढेको बताए। उनले भनें, “नेपालमा हरेक वर्ष मनसुनका बेला डेंगु फैलिने तथ्य थाहा हुँदाहुँदै पनि नागरिकले आवश्यक सावधानी नअपनाएका कारण यो समस्या बढिरहेको छ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट मृत्यु हुने सङ्ख्या शून्यमा झार्ने लक्ष्य राखे पनि हालसम्म पाँचजनाको मृत्यु भएको छ। मृतकमध्ये केहीले मिर्गौला, मुटु र उच्च रक्तचाप जस्ता दीर्घरोग पनि बोकेका थिए। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नागरिक सचेतनाको अभावलाई यस समस्याको प्रमुख कारण बताएका छन्।
सरकारले “खोज र नष्ट गरौँ” अभियान सञ्चालन गरे पनि नागरिकस्तरमा यसको प्रभावकारिता कम रहेको देखिन्छ। अभियानलाई सफल बनाउन बजेट व्यवस्थापन, झुल वितरण, तालिम आदिमा ध्यान दिइएको छ, तर जनस्तरमा यसको कार्यान्वयन पर्याप्त नभएको सरकारी अधिकारीहरूको भनाइ छ।
पछिल्लो वर्षको तुलनामा यस वर्ष डेंगु सङ्क्रमणमा केही कमी आएको देखिए तापनि, विशेषज्ञहरूले सचेतनाको अभावले आगामी दिनमा सङ्क्रमणको जोखिम रहिरहने चेतावनी दिएका छन्।