काठमाडौं, सोमबार साँझ ५ बजेदेखि अवरुद्ध भएको काठमाडौँ–मुग्लिन सडकखण्डमा राति ११:३० बजेबाट एकतर्फी रूपमा गाडी सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्ग नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार, पहिरोले सडक थुप्रै घण्टा बन्द भए पनि राति ६ घण्टापछि एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो। पहिरो पन्छाउन लामो समय लागेको र राजमार्गमा ठूलो मात्रामा लेदो जमेकोले यातायात पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने जानकारी दिइएको छ।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका तथा काठमाडौँतर्फ आउँदै गरेका सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचमै रोकिएका थिए। अहिले एकतर्फी सडक खुल्नासाथ यात्रुहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।