ट्रिलियन डलरको कम्पनी एप्पलले सोमबार राति आयोजित ‘एप्पल इभेन्ट’ मार्फत आफ्नो १६औँ संस्करणको आईफोन शृंखला सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी टिम कुकले नयाँ आईफोनलाई रोमाञ्चक नवयुगको संकेत गर्ने उपकरणको रूपमा प्रस्तुत गरेका छन्।

आईफोन १६ शृंखलामा अत्याधुनिक डिजाइन र फिचरहरू रहेका छन्, जसमा एप्पलको बौद्धिकता (एआई)लाई विशेष महत्त्व दिइएको छ। नयाँ आईफोन सेतो, कालो, टिल, एक्वामरिन, र गुलाबी रङमा उपलब्ध छ। यस शृंखला ६.१ इन्चको आईफोन १६ र ६.७ इन्चको आईफोन १६ प्लस गरी दुई आकारमा आएको छ।
नवीन बटन र अन्य विशेषता
आईफोन १६ मा ‘एक्सन बटन’को समावेश गरिएको छ जसले म्युट बटनलाई प्रतिस्थापन गर्दै फ्ल्यासलाइट बाल्ने वा क्यालेन्डर खोल्नेजस्ता काम सहज बनाउन सक्छ। यसमा थप गरिएको फिजिकल बटनले प्रयोगकर्तालाई औँलाको थिचाइबाटै क्यामेरा खोल्न मद्दत पुर्याउँछ।
एप्पल बौद्धिकता र क्यामेरा फिचर
आईफोन १६ मा १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथ रहेको छ र यसको ग्लास सेरामिक स्क्रिन अघिल्लो मोडलभन्दा ५० प्रतिशत बलियो छ। यसमा भिजुअल इन्टेलिजेन्स समावेश गरिएको छ जसले क्यामेरा सोझ्याउँदा वस्तुहरूको जानकारी दिने सुविधा प्रदान गर्छ।
एआई क्षमताहरू
एप्पलले एआई (एप्पल इन्टेलिजेन्स)लाई महत्वपूर्ण रूपमा प्रस्तुत गरेको छ। यसमा एआई टुल्सले इमेल, मेसेज, र सिरिसँगको संवादलाई सहज बनाएको छ। सिरिले अब प्रयोगकर्ताको म्यासेज वा अन्य सामग्रीबाट सन्देश सुझाव दिन सक्छ।
मूल्य र मोडलहरू
आईफोन १६ को सुरुवाती मूल्य ७९९ अमेरिकी डलर रहेको छ भने आईफोन १६ प्लसको मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ। आईफोन १६ प्रो र प्रो म्याक्सका लागि क्रमशः ९९९ र ११९९ अमेरिकी डलरबाट सुरु हुने कम्पनीले जनाएको छ।
आईफोन १६ प्रो शृंखला हालसम्मकै उच्च गतिको फोन मानिएको छ, जसले फोरके रिजोलुसनमा एक सेकेन्डमा १२० फ्रेम रेकर्ड गर्न सक्छ।
एप्पलले आईफोनबाहेक नयाँ एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको छ।
स्रोत-सीएनएन