काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आक्रोश व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई झुटो आरोप लगाउँदै भने, “नेपालमा ओलीभन्दा बढी झुट बोल्ने मान्छे सायदै कोही छैन।”

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर प्रधानमन्त्री ओलीले झुट बोलेको आरोप लगाए। “पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गएका थिए। डा. सन्दुक रूइत पनि जानुभएको थियो, हामी पनि गयौँ,” शाहीले भने। “तर अन्तिममा प्रधानमन्त्रीले ‘आउँदिन’ भन्दै दीक्षान्त समारोह पछाडि सार्न निर्देशन दिनुभयो।”
उनले प्रधानमन्त्रीको यो व्यवहारलाई हुकुमी शासनको उदाहरण भन्दै प्रधानमन्त्रीले गरेको खर्च निजी सम्पत्तिबाट असुल गर्नुपर्ने माग गरे। प्रधानमन्त्री बिरामी भएको भए त्यो स्वीकार्य हुने भए पनि, उनले व्यङ्ग्य गर्दै भने, “भ्युटावरको उद्घाटन गर्न दौडेर जानुहुन्थ्यो होला, तर विश्वविद्यालयको दीक्षान्त समारोहमा जान सक्नु भएन।”
शाहीले कांग्रेस र एमालेको भातृ संगठनलाई पनि सम्हाल्न चुनौती दिएका छन्।
