काठमाडौँ, चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय नेविसंघ (नेपाली कांग्रेस निकट विद्यार्थी संगठन) र अनेरास्ववियु (नेकपा एमाले निकट विद्यार्थी संगठन) बीचको झडपका कारण बन्धक बनेको छ।

भदौ १३ गते नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच छात्रबासको विवादमा भएको झडपले गम्भीर रूप लिएको थियो, जसका कारण नेविसंघका केही सदस्य घाइते भएका थिए। नेविसंघका अनुसार, विश्वविद्यालयमा छलफल भइरहेका बेला अनेरास्ववियुका कार्यकर्ताले आक्रमण गरेका थिए।
घटनापछि नेविसंघले कुटपिटमा संलग्नलाई कारबाही र घाइते विद्यार्थीको उपचारको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरेको छ। झडपमा नेविसंघका केही प्रमुख विद्यार्थी नेता घाइते भएका थिए, जसमा पूर्वअध्यक्ष सुभम सिंह ठकुरी र उपाध्यक्षद्वय अभिषेक ओली, शुसील क्षेत्री लगायत छन्।
तालाबन्दीको कारण विश्वविद्यालयको पठनपाठन ठप्प छ, भने स्नातक तहको प्रवेश परीक्षा समेत स्थगित गरिएको छ। प्रहरी घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा अंगभंग बनाएको अभियोगमा जाहेरी दर्ता गरेको छ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले घटनामा संलग्न विद्यार्थीमाथि अनुशासनात्मक कारबाहीको माग गरेका छन्।
