काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित महिला लिग आज (आइतबार)देखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ। खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेपछि सुरु हुनेछ।

यो लिग दुई चरणमा आयोजना हुने छ। पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, र कर्णाली प्रदेशले छनोट चरण पार गर्दै पहिलो चरणमा स्थान बनाएका छन्।
लिगमा ३ विभागीय टोली (एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, र नेपाल पुलिस क्लब) र २ क्लबका टोली (संकटा क्लब, बागमती युथ क्लब) साथै नगरपालिका २ टोली (वालिङ र चन्द्रपुर नगरपालिका) सहभागी हुनेछन्।
पहिलो चरणका ४० खेलपछि अंक तालिकाको शीर्ष ५ टोलीले सुपर लिग खेल्नेछन्। सुपर लिगमा ५ टोलीले डबल राउन्ड रोविनमा खेल्नेछन्।
सुपर लिगका २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेलाइनेछ। शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन्। पहिलो प्लेअफको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीलाई एलिमिनेटर खेल्नुपर्नेछ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले दोस्रो प्लेअफ खेल्नेछन्। दोस्रो प्लेअफको विजेताले पहिलो प्लेअफमा पराजित हुने टोलीसँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटरको विजेता र पहिलो प्लेअफको विजेताले फाइनलमा प्रवेश गर्नेछन्।
लिगमा कुल ९० खेल आयोजना हुनेछन्। छनोट खेलमा २१ खेल भइसकेका छन् र बाँकी ६९ खेल अझै आयोजना हुनेछन्।
महिला लिगको उपाधि विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र फेयर प्ले टिमलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने छ। उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलका प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ दिइनेछ।