विराटनगर, मोरङको सुन्दरहरैंचामा दुई नाबालिका बालिका मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार, उनीहरूलाई विष सेवन गराएर मारिएको संकेत प्राप्त भएको छ। मृतक बालिकाहरू ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की हुन्, जसका शव सुन्दरहरैंचा ७ गोठगाउँमा भेटिएका छन्।

स्रोत अनुसार, यी बालिकाहरू धनकुटाको पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङको सुन्दरहरैंचा ७ मालती टोलमा बस्दै आएका अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन्। अर्जुन कार्की र अस्मिता पौडेलबीच हिजो साँझ ६ बजेतिर झगडा भएको र अर्जुन बिहानै आफ्नो काममा निस्किएको बताइएको छ। अस्मिता पौडेल पनि बिहानको समयमा दुई बालबालिकासहित पूर्वाञ्चल विश्वविद्यालयतर्फ गएकी थिइन्।
तर, दिउँसो साढे ४ बजेतिर, दुई नाबालिकाको शव केरा बगानमा फेला परेको थियो। घटनास्थलमा विषादी पनि भेटिएको एसपी नवराज कार्कीले पुष्टि गरे। अहिले अस्मिता पौडेलको खोजी जारी छ र उनले आफ्ना छोरीहरूलाई विष सेवन गराएर फरार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा जनाइएको छ।
एसपी कार्कीका अनुसार, “अस्मिता पौडेलको खोजी भइरहेको छ र उनी नभेटिएसम्म घटनाको वास्तविकता बाहिर आउन सक्दैन। मृतक बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।” घटनास्थलमा एसपी कार्की नेतृत्वको टोलीले अनुसन्धान जारी राखेको छ।