काठमाडौँ, नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल भएकी छन्। यो नेपाली खेलाडीको कुनै पनि ओलम्पिकमा पहिलो आधिकारिक पदक हो।

पलेशाले महिला ५७ केजी तौल समूहको के–४४ विधामा रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ ले हराएर कांस्य पदक जितिन्। उनले टोकियो पारा ओलम्पिकमा पनि कांस्यको भिडन्तमा पुगेकी थिइन्।
नेपालले ओलम्पिकमा पहिलो पटक १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो। पलेशाले गत चैतमा एसियाली ओलम्पिक छनोटमा स्वर्ण जितेर पेरिसको टिकट पाएकी थिइन्।
पलेशा पेरिस पारा ओलम्पिकमा भाग लिने नेपाली तेस्रो तेक्वान्दो खेलाडी हुन्। अन्य खेलाडीहरू भरतसिंह महता र भीमबहादुर कुमाल पनि सहभागी छन्।