काठमाडौँ, वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकोले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

देशभरका कृष्णमन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तनका साथै विशेष गरी महिला र पुरुषहरूले ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ। भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
पौराणिक ग्रन्थअनुसार, श्रीकृष्णले बाल्यकालदेखि नै पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए। आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने छ भने राजधानीको अन्य स्थानमा रहेका ठुला, साना श्रीकृष्ण मन्दिरहरूमा पनि भक्तजनको भीड लाग्नेछ।
राजधानीका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि रहेको छ। यस पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। विभिन्न विद्यालयहरूले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रूपमा शृङ्गार गरेर विविध कार्यक्रम आयोजना गर्ने प्रचलन पनि रहेको छ, जसले बालबालिकालाई यस पर्वको महत्त्व बुझ्न मद्दत पुर्याउँछ।
